काठमाडौं। नेपाल एसीसी पुरुष प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल उपाधिनजिक पुगेको हो।
योसँगै एसिया कपनजिक रहेको नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्नेछ। यूएईले दोस्रो सेमिफाइनलमा हङकङलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
उपाधि जित्ने टोलीले भने एसिया कपमा स्थान बनाउने छ। नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा सबै विकेट गुमाउँदै ६० रनमा समेटियो।
ओमानका जितेन्द्र सिंहले सर्वाधिक २५ रन बनाए। उनले ४१ बलमा दुई चौका प्रहार गरे।
अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्। नेपालका दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान ३ विकेट लिए। ललितनारायण राजवंशी र रोहितकुमार पौडेलले पनि २/२ विकेट राखे।
त्यसअघि क्वालालम्पुरस्थित बायुएमास क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमा अलआउट भयो।
नेपालका दीपेन्द्रले सर्वाधिक ५१ रन बनाए। उनले ७६ बलमा चार चौका प्रहार गरे गरे। बशीर अहमदले ८८ बलमा ३ चौका र १ छक्कासहित ४७ रन बनाए।
नेपालको सुरुआत भने कमजोर रह्यो। देव खनाल १३, आसिफ शेख ११ र इशान पाण्डे १ रनमै आउट भए। रोहित पौडेलले ३ रन बनाए।
बशीर र दीपेन्द्रले पाँचौं विकेटका लागि ९३ रनको साझेदारी गर्दै नेपाललाई संकटबाट उकासेका थिए। उनीहरूको साझेदारीपछि नेपालले ठूलो स्कोर बनाउने अपेक्षा गरिएको थियो। तर‚ बशीर आउट भएपछि नेपालको इनिङ्स फेरि दबाबमा परेको थियो।
गुल्सन झा ७, करण केसी ५, कप्तान सन्दीप लामिछाने ३ र शेर मल्ल शून्य रनमा आउट भए।
ओमानका जय वीरम ओडेडारा र हस्नैन शाहले उत्कृष्ट बलिङ गरे। दुवैले ३/३ विकेट लिए। ओडेडाराले १० ओभरमा १ मेडन राख्दै २६ रन दिए भने हस्नैनले ८.४ ओभरमा २८ रन खर्चिए।
मुहम्मद इमरानले २ विकेट लिए। शकिल अहमद र मुजीबुर अलीले १/१ विकेट हात पारे।


















