बाजुरा । बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका पुगेका कञ्चनपुरका दुई युवा सम्पर्कविहीन भएका छन्। भारी हिमपातका कारण उनीहरू बडीमालिका क्षेत्रमै अलपत्र परेको आशंका गरिएको छ।
सम्पर्कविहीन हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्की रहेका छन्। उनीहरू बडीमालिका माताको दर्शन तथा भ्रमणका लागि त्यहाँ पुगेका थिए।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार असोज ९ गते सदरमुकाम मार्तडीबाट पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो। तीमध्ये तीन जना फर्किसकेका छन् भने मनिष र सागर अझै सम्पर्कमा आएका छैनन्।
प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार सुरुमा मनिष बोहरा सम्पर्कविहीन भएका थिए। त्यसपछि शुक्रबारदेखि सागरसँग पनि सम्पर्क हुन सकेको छैन।
शाहीका अनुसार सागरले यसअघि फोन सम्पर्कमा आफू बडीमालिकाबाट फर्किने क्रममा साथी हराएको र त्रिवेणी पाटनमा रहेको बताएका थिए। त्यसपछि उनीसँग पनि सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ।
शुक्रबारदेखि जिल्लामा वर्षासँगै बडीमालिकासहित उच्च हिमाली क्षेत्रमा भारी हिमपात भइरहेको छ। प्रतिकूल मौसम र हिमपातका कारण उद्धार कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ।
सम्पर्कविहीन युवाहरूको खोजी तथा उद्धारका लागि सदरमुकाम मार्तडीबाट प्रहरी टोली परिचालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

















