खाेज्नुहाेस्

‘अर्णव’ चक्रवातको असर : वर्षाभन्दा बढी हिमपात गराउन सक्ने

Image

बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली न्यूनचापीय क्षेत्र बलियो चक्रवातको स्वरूपमा बदलिएको छ । उक्त चक्रवात ‘अर्णव’ रहेको नेपाल मौसम विज्ञान विभाग र भारत मौसम विभाग दुवैले औँल्याएका छन् । सोमबार चक्रवातमा परिणत भएर अर्णव भारतको आन्ध्र प्रदेश र ओडिसातर्फ सोझिँदै जाँदा ती क्षेत्रमा उच्च सतर्कताको सूचना जारी गरिएको छ । विगत छ घण्टामा १५ किलोमिटर प्रतिघण्टाको उच्च गतिमा पश्चिमतिर सर्दै छ । अर्णव चक्रवात पूर्वी र पश्चिमस्थित बङ्गालको खाडीमा १५।४ डिग्री उत्तरी अक्षांश र ८८।९ डिग्री पूर्वी देशान्तरमा केन्द्रित रहँदै अन्डमान टापुबाट करिब ५९० किलोमिटर उत्तरपश्चिममा रहेको छ ।

मङ्गलबार थप बलियो हुँदै अत्यन्तै गम्भीर चक्रवाती आँधीमा परिणत हुने सम्भावना उच्च रहेको भारतको मौसम विभागले जनाएको छ । विभागका अनुसार त्यसपछि उत्तरपश्चिमतिर सर्दै विशाखापट्टनमको बिचमा रहेको आन्ध्र प्रदेश र यानम तट पार गर्ने छ । सो क्रममा चक्रवातको वायुको वेग ११५ देखि १२५ किलोमिटर प्रतिघण्टा हुने अनुमान गरिएको छ । बुधबार बिहान चक्रवातको वायुको वेग अति शक्तिशाली हुँदै १४० किलोमिटर प्रतिघण्टाको गतिमा परिणत हुने छ ।

मङ्गलबार मध्याह्न भारतको आन्ध्र प्रदेश र ओडिसाको तटीय क्षेत्रमा मौसमी उदण्डता मच्चाएपछि अन्य प्रणालीसँग मिसिँदै नेपालतर्फ सोझिने भएको छ । बुधबार रातिदेखि चक्रवातको असर नेपाल आइपुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसले बिहीबारदेखि नेपालका विभिन्न स्थानमा भारी वर्षा गराउने छ । वर्षाभन्दा बढी हिमाली भेगमा भीषण हिमपात गराउने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिएका छन् ।

चक्रवातले ल्याउने जलवाष्प माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखासँग ठोक्किन पुग्दा वर्षा लम्बिने भएको छ । उनकाअनुसार देशव्यापी बदली र वर्षाको सम्भावनासँगै शनिबारसम्म काठमाडौँ उपत्यकासहित कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा विशेष सतर्कता अपनाउनुपर्ने हुन सक्ने छ ।

महाशाखाले पाँच दिनको मौसमको अवस्था सार्वजनिक गर्दै बुधबारसम्म काटेको धान भित्र्याउन सुझाएको छ । हिमाली भेगमा पदयात्रा र आरोहणको मौसम भएकाले ती दिनमा हिमालमा यात्रा नगर्न मौसमविद् लामिछानेले आग्रह गरेका छन् ।

सम्बन्धित पाेष्ट