खाेज्नुहाेस्

प्रशासनद्धारा परशुराम र आलितालमा बजार अनुगमन,अखाद्य र म्याद गुज्रेका सामान नष्ट

Image

डडेल्धुरा ।  डडेल्धुराको परशुराम र आलितालको बजार क्षेत्रमा अनुगमन गरिएको छ ।

चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय डडेल्धुराको संयुक्त टोलीले शनिबार र शुक्रबार परशुरामको जोगबुडा आलितालका विभिन्न बजारमा अनुगमन गरेको छ। शनिबार उद्योग वाणिज्य संघ जोगबुडा, कृषि विकास शाखा र पशु सेवा शाखाको सहभागितामा परशुराम नगरपालिका–९ को गाईबाधे बजार, वडा नम्बर १२ को पन्तुरा तथा जोगबुडा बजार र वडा नम्बर ४ को कटाल बजारमा अनुगमन गरिएको थियो।

त्यस्तै, आइतबार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, आलिताल गाउँपालिकाका कर्मचारी तथा प्रहरीको संयुक्त टोलीले आलितालका घुम्ती, गोदाम, लगाएको बिभिन्न बजारका होटल, किराना पसल ,डेरी तथा बेकरी उद्योगमा अनुगमन गरेको हो।


अनुगमनका क्रममा परशुराममा ४ वटा होटल, १४ वटा किराना पसल र १ वटा चाउमिन उद्योग गरी कुल १९ वटा पसल तथा व्यवसायको निरीक्षण गरिएको टोलीले जनाएको छ। आलितालमा पनि विभिन्न होटल, किराना पसल तथा बेकरी उद्योगको अनुगमन गरिएको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर रोकायाका अनुसार अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तुको मूल्य, होटल तथा खाद्य व्यवसायको सरसफाइ, खाद्यवस्तुमा अखाद्य रङको प्रयोग, व्यवसाय दर्ता तथा नवीकरण र म्याद गुज्रिएका सामग्रीको बिक्रीवितरण अवस्थालाई प्राथमिकतामा राखिएको छ ।


उपभोक्ताको स्वास्थ्य सुरक्षा, गुणस्तरीय वस्तुको उपलब्धता र व्यवसायमा स्वच्छता कायम गर्ने उद्देश्यले अनुगमनलाई तीव्रता दिइएको जिल्ला बजार अनुगमन समिति संयोजक तथा घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका कार्यालयम प्रमुख नरेन्द्र राज पन्तले बताएका छन् ।

अनुगमनका क्रममा जोगबुडा र आलितालका विभिन्न पसलबाट म्याद गुज्रिएका खाद्यवस्तु बरामद गरी नष्ट गरिएको छ। अन्य अवस्था भने सामान्य रहेको अनुगमन टोलीले जनाएको छ।

सम्बन्धित पाेष्ट