काठमाडौं । नेपाल स्टक एक्सचेन्जले मंगलबार सबै ब्रोकर कम्पनीमार्फत नियमित कारोबार सञ्चालन भएको जनाएको छ ।
७२ वटा ब्रोकर कम्पनीको डाटा व्यवस्थापन गर्दै आएको डाटा हब प्रणालीमा देखिएको प्राविधिक समस्या समाधान भएपछि सेयर कारोबार नियमित भएको नेप्सेले जनाएको छ ।
नेप्सेले मंगलबार सूचना जारी गर्दै डाटा हबमा देखिएको समस्या समाधान भएको जानकारी प्राप्त भएकाले आजदेखि नियमित कारोबार सञ्चालन हुने जनाएको हो ।
डाटा हबमा देखिएको समस्याका कारण सोमबार नेप्सेमा सेयर कारोबार हुन सकेको थिएन । डाटा हबमा रहेको प्रणालीमा अनधिकृत पहुँच भएको आशंकापछि समस्या पहिचान र समाधानका लागि कारोबार रोकिएको थियो ।
घटनापछि डाटा हबको प्रणाली तथा त्यसबाट प्रभावित हुनसक्ने कारोबार सदस्यहरूको डाटा सुरक्षाबारे समेत अनुसन्धान थालिएको थियो ।
सोमबार नेप्सेले सूचना जारी गर्दै डाटा हबमा देखिएको प्राविधिक समस्याका कारण निर्धारित समयअनुसार कारोबार सञ्चालन गर्न नसकिएको जनाएको थियो ।


















