काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण सडक तथा सञ्चार पूर्वाधार प्रभावित भएका क्षेत्रमा एनसेलले स्याटलाइट प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ । उद्धार, राहत तथा पुनर्स्थापनाका काममा सञ्चार सम्पर्क सहज बनाउने उद्देश्यले कम्पनीले प्रभावित क्षेत्रमा यस्तो सेवा विस्तार गरेको हो ।
एनसेलले युटेलस्याटको लो अर्थ अर्बिट (एलईओ) स्याटलाइटमा आधारित उपकरण बाढी प्रभावित क्षेत्रका आवश्यक र रणनीतिक स्थानमा जडान गरिरहेको जनाएको छ । मोबाइल तथा सामान्य इन्टरनेट सेवा अवरुद्ध भएका अवस्थामा समेत उक्त प्रविधिबाट इन्टरनेट सञ्चालन गर्न सकिने कम्पनीको भनाइ छ ।
हालसम्म नुवाकोटका तीन महत्त्वपूर्ण स्थानमा स्याटलाइट उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याइएको छ । सरकारी निकायसँगको समन्वयमा बाढी प्रभावित अन्य क्षेत्रमा पनि उपकरण जडान गर्ने काम भइरहेको एनसेलले जनाएको छ ।
स्याटलाइटबाट प्राप्त इन्टरनेट सिग्नल जमिनमा जडान गरिएको उपकरणमार्फत वरपरका क्षेत्रमा वाइफाइका रूपमा वितरण गरिन्छ । यसका लागि स्थानीय मोबाइल टावर वा फाइबर नेटवर्कमा निर्भर हुनुपर्ने आवश्यकता पर्दैन ।
कम्पनीका अनुसार उक्त प्रविधिबाट उच्च गतिको तथा कम विलम्बता (लो लेटेन्सी) भएको इन्टरनेट उपलब्ध हुन्छ । यसबाट प्रभावित क्षेत्रका नागरिक तथा उद्धारमा खटिएका टोलीले सन्देश आदानप्रदान, इन्टरनेट कल, आवश्यक सूचना आदानप्रदान, ब्राउजिङ तथा राहत कार्यको समन्वय गर्न सक्नेछन् ।
बाढी प्रभावित समुदाय, होल्डिङ सेन्टर, राहत वितरण केन्द्र, अस्थायी शिविर तथा आपत्कालीन कार्य सञ्चालन भइरहेका स्थानमा हाल निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने एनसेलले जनाएको छ ।

एनसेलका प्रमुख कर्पोरेट तथा नियामक अधिकृत डिल्ली राम श्रेष्ठले सडक र सञ्चार पूर्वाधारमा ठूलो क्षति पुगेका नुवाकोटका तीन स्थानमा स्याटलाइट सञ्चार पहुँच स्थापना गरिएको बताए । उनका अनुसार यसले उद्धार तथा राहत कार्यमा संलग्न टोलीलाई समन्वय गर्न सहज बनाउनुका साथै प्रभावित नागरिकलाई आफन्त तथा अन्य व्यक्तिसँग सम्पर्कमा रहन सहयोग पुर्याउनेछ ।
स्याटलाइट इन्टरनेटसँगै एनसेलले बाढी प्रभावित आफ्ना ३ लाखभन्दा बढी ग्राहकलाई सुरुदेखि नै दैनिक निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
त्यस्तै, एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गरिसकेको कम्पनीले जनाएको छ ।
सञ्चार पूर्वाधारमा क्षति पुगेका बेला उद्धार तथा राहतको प्रभावकारी समन्वयका लागि वैकल्पिक सञ्चार माध्यम महत्वपूर्ण हुने भएकाले स्याटलाइट प्रविधिको प्रयोग गरिएको एनसेलको भनाइ छ । सडक तथा फाइबर सञ्जाल अवरुद्ध हुँदा समेत प्रभावित क्षेत्रलाई बाहिरी संसारसँग जोडिराख्न यो प्रविधिले सहयोग पुग्ने कम्पनीले जनाएको छ ।


















